DateTime

के होला जीवनको सबैभन्दा कठिन खोज र कठिन चयन? - वीणा नागपाल

Photo credited to Gorkha Times.



(अनुदित लेख)

जीवनको सबैभन्दा कठिन खोज र कठिन चयन भनेर हामी आफ्नो मनमिल्दो जीवनसाथीको खोज र चयनलाई बुझ्दछौं। यो दुवै पक्षको निम्ति कठिन हुन्छ, युवक तथा युवती। युवतीलाई त झन धेरै कठिन हुन्छ जस्तो लाग्छ। थाहा छैन वैवाहिक सम्बन्धको खोजमा सर्वश्रेष्ठ व्यक्तित्व तथा सर्वश्रेष्ठ पृष्ठभूमिको कसरी खोज गरिन्छ। कतै यति धेरै मानदण्ड निर्धारित गरिन्छ कि जुन प्रायः समाजमा उपलब्ध हुँदैन। यो खोज भावी वर र वधु दुवैकै हुन्छ जसमा परिवारका अन्य सदस्यहरू पनि धेरै सक्रियतापूर्वक साममेल हुन्छन्।

उत्कृष्टताको सम्भाव्यता सबै टक्टक्याएर हेरिन्छ। घर र परिवार राम्रो होस्, साथ-साथै युवक र युवतीको व्यक्तित्व अनि सौन्दर्य पनि अद्भुत होस्, यस्ता सम्भावनाहरू खोजिन्छ। हाम्रो परिवारमा युवक-युवतीको उमेर 18 पार हुनेसाथै माता-पिता र छिमेकी, निजकका आफन्तहरू र आत्मीयजन पनि उनको भावी वर वा वधुको निम्ति सोच्न, मनन् गर्न, चयन गर्न, जानकारी लिन थालिहाल्छन्। हुन त अहिले लगभग प्रेम विवाहले नै ठाउँ पाएको भए तापनि सबै कुरा हेरकोर गरेर मागी विवाह गरेजस्तो राम्रो प्रेम विवाह हुँदैन भन्ने माता-पिताहरूको सङ्ख्या पनि कम छैन र तिनीहरू आफ्ना छोरा-छोरीलाई प्रेम विवाह गर्न निरुत्साहित गर्दछन् तथा मगनी गरेर विवाह गर्न प्रेरित गर्दछन्। हुन त यहाँ एउटा यस्तो कुरा पनि आउँछ - आमा-बाबाको आफ्ना छोरा वा छोरीको जीवनसाथी चयनतर्फको सक्रियता हेर्दा यस्तो लाग्छ कि उनीहरूले नै आफ्ना छोरा वा छोरीको निम्ति सर्वश्रेष्ठ जीवनसाथी चयन गर्नसक्छन्। आफ्नो छोरा वा छोरीले पनि यो काम गर्नसक्छ भन्ने कुरामा उनीहरू अलिकति पनि विश्वास गर्दैनन्। अपरिपक्व दिमागले सही चयन गर्नसक्दैन भन्ने उनीहरू ठान्छन्। 18 टेक्नेसाथै माता-पिताको मनमा एकप्रकारको अञ्जान भय रहन्छ - आफ्नो छोरा वा छोरीले कतै गलत कदम नचालोस्।

आफ्नो छोरा वा छोरीले आफ्नो जीवनसाथीको घोषणा गर्ला कि भनेर पनि डर रहन्छ। सोझै घोषणा नगरे पनि मलाई यस्तो प्रकारको, रूप-रङ्गको, पढाइ -रोगजारको, पारिवारिक पृष्ठभूमिको जीवनसाथी मनपर्छ भनिदिएमा पनि त्यो रोजाइ अनुसारको चयन पुनः कठिन कार्य भइहाल्छ। सबैकुरा भनेकैजस्तो ठ्याक्कै हुन्छ र भन्ने डर हुन्छ। आफ्नो पढाइको क्षेत्र आफै चयन गर्नसक्ने, रोजगारको क्षेत्र आफैले चयन गर्न सक्ने छोरा वा छोरीले आफ्नो जीवनसाथी चयन गर्न सक्दैनन् र? आमा-बाबाले बुझ्नुपर्ने समय आएको छ।

यो सबैभन्दा ठूलो उत्तरदायित्व हो तर प्राय: सबै परिवारमा माता-पिताले आफ्ना छोरा वा छोरीलाई सूचित नगरिकनै यो फसेला गरिलिन्छन्, हामी नै आफ्ना छोरा वा छोरीको निम्ति सर्वश्रेष्ठ, अत्यन्तै मिल्ने जीवनसाथी चयन गर्नसक्छौं भन्ने भावना पाल्छन् र यो निर्णय लिन्छन्। निर्णय लिनपूर्व एकचोटि आफ्ना छोरा वा छोरीसित पनि सोध्नु आवश्यक छैन र? माता पितालाई आफ्नो छोरा अथवा छोरीले उच्च शिक्षा, राम्रो रोजगार, अन्य कुरामा सही निर्णय लिनसक्छन् भन्ने विश्वास त हुन्छ तर जीवनसाथी चयन गर्दा भने सही गर्लान के त भनेर त्यो विश्वासमा कमी भइहाल्छ।

आमा-बाबाले शिक्षा र परिवर्तनका कुराहरूलाई हेरेकै छन्, बुझेकै हुन्छन् तर पनि यो मोडमा आइपुग्दा किन अलिकति अलिकति रुढीबादीजस्तो वा प्राचीन परम्पराले मनमा जरा गाडेको जस्तो  व्यवहार देखाउँछन्। आफ्नो छोरा अथवा छोरीको निम्ति जीवनसाथीको चयन हामीनै खाश रूपमा गर्छौं भन्ने उनीहरूको मनमा रहिरहेको हुन्छ। 

अँ, आफ्ना छोरा वा छोरी अल्पशिक्षित छन् भने माता-पिताले यो निर्णय लिनसक्छन्, यद्यपि जीवन गुजार्नु जस्तो गम्भीर विषयमा हत्तार नगरी दुवै पक्षका युवक-युवतीलाई सोधेको असल हो भन्ने कुरा बुझ्न आवश्यक देखिन्छ।

यो राम्रो र सर्वश्रेष्ठको खोजमा कतिजना युवकले युवतीहरूलाई नकार्छन् र कतिजना युवतीहरूले युवकहरूलाई नकार्छन्। त्यस परिस्थितिको महसुस कस्तो हुन्छ - त्यो माता-पिताले बुझ्ने कहिल्यै कोशिश गरेका हुन्छन् कि हुँदैनन् - जान्न गाह्रो छ। विशेष गरी युवतीलाई हेरकोर गरेर नकार्दा उनको मस्तिष्क र परिवारमा के असर पर्छ यो पनि त विचार गर्नुपर्छ। यस प्रकारको संस्कारमा कतै परिवर्तन गर्न आवश्यक त छैन? कतैकतै यस्तो लाग्छ कतै बजारमा एक बस्तु राखिएको छ जसको मोल वा तोक लगाइन्छ, यो राम्रो छ वा यो राम्रो छैन। झन आफ्नै जाति र सङ्गोष्ठीको महत्त्व दिनेहरूले यही सङ्कीर्ण परिधिमै आफ्नै छोरा-छोरीको पूरै जीवन बिताउने साथी खोज्छन्। कति गम्भीर विषय छ तर कति खेलाइँची तरीकाले लिएको देखिन्छ यद्यपि यसलाई माता-पिताले गम्भीर रूपले नै लिएका किन नहुन्।

हिजोआज वैवाहिक सम्मेलन धेरै प्रचलित हुनथालेको छ। प्रत्येक जात-समुदाय-जाति र समाजको अधिवेशन आयोजित गर्न थालिएको छ। 

तर परिणय तय भयो - सम्म त ठीकै छ तर घर पुगेपछि, वा दुई-चार महिना बित्दैजाँदा सम्बन्ध कस्तो हुँदैजाने हो- त्यो निक्कै गम्भीर विषय हो। त्यसैले भनिन्छ- यो नै हो जीवनको सबैभन्दा कठिन खोज वा चयन वा निर्णय पनि। यसमा युवकहरूभन्दा युवतीहरूले अधिक सचेत रहेर निर्णय गर्नुपर्छ। युवक र युवतीको चयनमा अलिकति फरक हुन्छ- युवकको परिवारमा एउटी नयाँ सदस्या आउँछिन्, तर एक युवती धेरै नयाँ सदस्य भएको परिवारमा नौलो सदस्यको रूपमा जान्छिन्। त्यहाँको माहोल, वातावरण, जीवनसाथीको आफू प्रतिको व्यवहार अनुकूल भएन भने उनलाई धेरै गाह्रो हुन्छ। 

अर्को कुरा - सार्वजनिक रूपमा वैवाहिक आयोजना गर्न जति महत्त्वपूर्ण देखिएको छ, के त्यति नै महत्त्वपूर्ण नहोला र जहाँ  बिसमजाति, बिसमवर्ण, बिसमवर्ग, बिसमसमुदायका युवक-युवतीमाझ वैवाहिक प्रचलन होस् जसले जातीय बन्धन/सामाजिक बन्धनलाई बल मिल्छ?

सर्वजातीय सम्मेलन अधिक सङ्ख्यामा आयोजित गरिएमा वर-वधुको चुनाउको क्षेत्र बढ्छ, अनि दोस्रो कुरा जातीय बन्धन र जातिगत सङ्कीर्ण जड पनि समाप्त भएर जानेछ। तोडिने ठाउँमा त आमा-बाबाद्वारा तय गरिएको सम्बन्ध पनि तोडिएकै छ नि, नतोड़िने ठाउँमा युवक-युवतीले आफ्नो चयनमा गाँसेको सम्बन्ध पनि तोडिएको छैन। पाश्चात्य सभ्यताको लिभिङ टुगेदर, डेटिङजस्ता प्रचलन हाम्रो समाजलाई जच्दैन, यसैले माता-पिताले लभ मेरिजलाई होइन, एरेञ्ज मेरिजलाई नै मान्यता दिन्छन्।  यो एक व्यक्तिको दोस्रो व्यक्तिसित  जीवनभर साथ-साथ रहने मामिला हो। यसमा किन युवावर्गलाई अलिकति आफ्नो जीवनसाथी चयनको छूट नदिने? अलिकति छूट दिनुपर्छ र अलिकति आफू पनि सङ्कीर्णताबाट बाहिर आउनुपर्छ र आफूले आफ्ना छोरा-छोरीको चयनलाई बुझ्ने कोशिश गर्नुपर्छ। यसो गर्नाले अत्यन्तै उपयुक्त जीवनसाथीको चयन हुनसक्छ कि, धेरथोर यो सम्भव छ।
कि तपाईंहरूलाई कस्तो लाग्छ ? तपाईंहरूको विचारको हामी कदर गर्दछौं।

एक टिप्पणी भेजें

0 टिप्पणियाँ

Made with Love by

Made with Love by
नेपाली भाषालाई माया गर्ने भारतीय मूलका नेपालीभाषी गोर्खाहरूको योगदानद्वारा तयार